कर्णालीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ



कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री र दुई जना नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री राजकुमार शर्मा र दुईजना मन्त्रीहरुलाई शपथ खुवाएका हुन् । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका मुख्यमन्त्री शर्माले आफ्नो मन्त्रिपरिषदमा दुईजना मन्त्री थपेका हुन्।


उनले माओवादी केन्द्रबाट मंगलबहादुर शाही र एमालेबाट विनोदकुमार शाहलाई मन्त्री नियुक्त गरेका छन् । शाही मुगुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्छन् भने शाह दैलेखबाट प्रतिनिधित्व गर्छन् । नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन ।

मुख्यमन्त्रीका लागि माओवादीले दावी पेश गर्नुअघि सत्ता साझेदार दलहरुबीच बुधबार भएको छलफलबाट कर्णाली प्रदेशमा माओवादीले मुख्यमन्त्री सहित चार वटा र एमालेले तीन वटा मन्त्रालय लिने निर्णय भएको थियो।