निर्वाचनको जनमतबाट सबै मिलेर जानुपर्ने अवस्था आएको छ : अध्यक्ष लिङ्देन



काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनबाट बनेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेकाे विश्वासको मतमा समर्थन गर्दैै उनले प्रधानमन्त्रीले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिबद्धताको सराहना गरे ।


साथै त्यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेकोसमेत उनले बताए । उनले लामो समयदेखिको जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रुपमा बढाउन सरकार सफल होस् भनी कामना गरे ।

अध्यक्ष लिङ्देनले पुथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताए ।

उनले भने,’पृथ्वीनारायण शाह थिए त अहिले नेपाल  छ। उनको सम्मानमा प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक विदा दिने हिम्मत गर्‍यो।’ पृथ्वीनारायण शाहप्रति गौरवबोध गर्दा पछाडि फर्किएको अनुभव गर्न नहुने उनको भनाइ छ।

उनले हालको  प्रतिनिधिसभाको संरचना नै विशेष प्रकृतिको रहेको बताए। उनले भने,’प्रतिनिधिसभाको संरचना विशेष प्रकृतिको छ।  कुनै पनि दलको बहुमत छैन। सबै दलहरु मिलेर जानुपर्छ। कुनै विचार र दललाई निशेध गरिएको छैन।’