पोखरा । एघारौँ संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । महोत्सवको बुधबार अमरसिँह चौरमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नेछन् । आयोजक युनाइटेड क्लब, पोखराका अध्यक्ष राजु श्रेष्ठले महोत्सवको शुभारम्भ समारोहलाई भव्य बनाइने बताए ।
खेल, कला, संस्कृति र व्यापार प्रवद्र्धनको उद्देश्यले महोत्सव राखिएको उनको भनाइ छ । महोत्सव आगामी माघ ९ गतेसम्म चल्नेछ । महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवद्र्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्रावास निर्माणमा लगाइने आयोजकले जनाएको छ ।
महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा दुई सय ५८ व्यावसायिक ‘स्टल’ रहनेछन् । तेह्र दिनसम्मको महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आङ्कलन गरिएको छ ।
“महोत्सवले पोखराको आर्थिक गतिविधि बढ्छ, यहाँको आन्तरिक अर्थतन्त्र चलायमान हुन्छ, अर्कातिर दर्शकले स्वस्थ मनोरञ्जनको अवसर पाउँछन्”, अध्यक्ष श्रेष्ठले भने । महोत्सव अवधिभर जातीय वेशभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गरिने भएको छ ।
औद्यागिक उत्पादन, हस्तकला, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्री कक्ष पनि रहने आयोजकको भनाइ छ । महोत्सवमा दैनिक रुपमा कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । रमाइलो बाल उद्यान, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, हास्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायत मेलाका आकर्षण रहने छन् ।