मधेस प्रदेश : मुख्यमन्त्रीका लागि आजै दाबी पेश गर्ने तयारी



जनकपुर । सत्ता गठबन्धनले मधेस प्रदेश सरकार गठनका लागि आजै दाबी पेस गर्ने तयारी गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशप्रमुख रामबाबु यादवले सत्ता गठबन्धनले आज अपराह्न ४ बजेसम्म जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा समर्थन गर्दै सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको जानकारी दिए । उनले आजै दाबी पेस गर्ने गरी सत्ता गठबन्धनका दलहरुले आन्तरिक तयारी गरेको र सोहीअनुसार प्रदेश प्रमुखसमक्ष समय मागसमेत भइसकेको बताए ।


प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही पुस २८ गते अपराह्न ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरे पनि सत्ता गठबन्धनले दुई दिनअघि नै दाबी पेस गर्ने तयारी गरेको हो । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरुबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार पहिलो आधा कार्यकालका लागि जसपा नेतृत्वमा सरकार बन्न लागेको हो ।

मधेस प्रदेशसभामा १६ सदस्यसहित तेस्रो पार्टीका रुपमा रहेको जसपालाई नेकपा एमाले (२३), जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक÷एक) सहितका ६० प्रदेशसभा सदस्यको समर्थन रहने र यो सङ्ख्या बढ्न पनि सक्ने जनाइएको छ ।