मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपांग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपांगता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाभित्रका अपांगता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । ‘गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेको हुँदा स्वास्थ्य बीमा गर्न नसक्ने अपांग र विपन्नको गाउँपालिकाले नै बीमा गर्ने छ’, उनले भने, ‘कार्यविधिअनुसार गरिब तथा विपन्न परिवार पहिचान गरी स्वास्थ्य बीमामा समावेश गरिने छ ।’
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताए । सो कार्यक्रमका लागि गाउँपालिकाले चालू आर्थिक वर्षदेखि बजेटको व्यवस्था गरेको छ ।