काठमाडौँ । बलात्कार मुद्धाको आरोपमा पूर्पक्षका लागि आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइको आज पेशी तोकिएको छ । पाटन उच्च अदालतमा दर्ता गरिएको पुनरावेदनको सुनुवाइका लागि पेशी तोकिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको छ। उक्त इजलासमा सन्दीपको मुद्दा चौथो नम्बरमा परेको छ।
यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको छ।
हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि बुधबार क्रिकेटरहरुले आवाज उठाएका थिए। एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौँको आदेशअनुसार उनी १८ कात्तिकमा कारागार चलान भएका थिए।