काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको भन्ने भ्रामक मिथ्या फैलाइएको जनाएको छ । केहीदिन यता म्याच फिक्सिङ भएको भन्ने विभिन्न मिडियामा समाचार आएपछि क्यानले यस्तो बताएको हो ।
बुधबार क्यानले विज्ञप्ति जारी गर्दै फिक्सिङको बारेमा भ्रम र हल्ला फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । क्यानले यदि कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित नेपाल टी–२० लिगको ‘एन्टी करप्सन युनिट’लाई उजुरी दिन समेत आग्रह गरेको छ ।
टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले मंगलबार फेसबुक लाइभ गरेका थिए । त्यसपछि विवाद उब्जिएको थियो ।
यससँगै नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले प्रस्ताव गरिएको बताएका थिए ।