जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : राष्ट्रियसभा अध्यक्ष



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

स्पिकर्स फोरम नेपालले आज यहाँ आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तरक्रिया कार्यक्रममा उनले केही कानुनी जटिलताकाबीच पनि संघ र प्रदेशसभा मार्फत् सकारात्मक काम भएको भन्दै त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । 


उनले भने, ‘अबका दिनमा परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय र लोकप्रिय बनाउन जनप्रतिनिधिले व्यवहार बदलेर जनताको पक्षमा काम गर्न जरुरी छ ।’ अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै संघ तथा प्रदेशमा मन्त्रिमण्डल सानो आकारको बनाइ आर्थिक मितव्ययिता कायम गरिनुपर्नेमा जोड दिए । मुलुकको संविधानको व्यवस्थाअनुरूप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बनाउँदा थोरै मन्त्रालय बनाइनुपर्ने धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले प्रदेशसभा र संरचना भद्दा र खर्चिलो भयो भनेर आलोचना हुनेगरेको प्रसंग उल्लेख गर्दै कमिकमजोरीलाई सच्याएर बलियो बनाउन आवश्यक रहेको बताए । ‘प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको छ’, उनले भने, ‘सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्छ । अहिलेको आलोचनालाई भविष्यमा सुधार गरेर जानुपर्छ ।’

उनले प्रदेशसभालाई प्रभावकारी बनाउन र जनआकांक्षा अनुरूप काम गर्न स्पिकर्स फोरमको महत्वपूर्ण भूमिका हुने भन्दै सातै प्रदेशमा अन्तरक्रिया गरेर प्रदेशसभाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभालाई अधिकार सम्पन्न बनाइ जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औँल्याए । उनले जनप्रतिनिधि कानुन बनाउने भन्दा पनि विकासका लागि धाउनुपर्ने बाध्यताको अन्त्य गरी संघ र प्रदेशसभालाई कानुनमार्फत प्रभावकारी थलोका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । 

‘संघ, प्रदेश र स्थानीय तहको उद्देश्यअनुरूप अधिकार सम्पन्न बनाउन सकिएको छैन । केन्द्रिकृत प्रवृत्ति हाबी भइरहेको छ, त्यसकारण प्रणालीलाई ठीक ढंगले चलाउन कठिन भएकै सन्दर्भमा जनचाहना बमोजिम राष्ट्रियसभाको कामलाई प्रभावकारी बनाइनुपर्छ’, पूर्व सभामुखसमेत रहेका नेता पौडेलले भने ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले जनप्रतिनिधिको थलो संसद्को भूमिकालाई प्रभावकारी बनाएर जनताको हितमा काम गर्न जनप्रतिनिधि केन्द्रित हुनुपर्ने बताए । उनले आवश्यक ऐन, कानुन बनाउन ढिलो भएका कारण प्रदेशसभा प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै प्रदेशसभाको अनुभवलाई जीवन्त आगामी भूमिकालाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थान तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय राजनीतिलाई दिगो बनाउन र परिवर्तित व्यवस्थालाई स्थापित गर्न फोरमले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।