लिबियामा अज्ञात व्यक्तिका १८ शव फेला



लिबियाका अधिकारीहरुले यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ वटा शव भेटिएका जनाएका छन् । सिर्ते सबा क्षेत्रमा गत हप्ता शवहरु भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती अधिकारीले जनाएका छन् ।

बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पुर्याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


उनले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन् ।

गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ वटा शव भेटिएका प्रहरीले जनाएको थियो । सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए ।

सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो । पछिल्लो समयमा भेटिने गरेका शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान यहाँको प्रहरीले गर्ने गरेको छ ।