नेटोका महासचिवले रुस पछाडि हट्ने सङ्केत नदेखिएको सन्दर्भमा पश्चिमा देशहरू युक्रेनलाई लामो समयसम्म सहयोगका लागि तयार रहनुपर्ने बताएका छन् ।
सैन्य सहयोगले एउटा सार्वभौम देशको रूपमा टिकिरहन युक्रेनलाई सघाउ पुग्ने, वार्तामा बस्न रुसलाई दबाव दिने तथा सहमतिमार्फत् युद्धको अन्त्य गराउने एन्स स्टोलटनबेर्गले बताएका हुन् । पश्चिमा देशहरूलाई रुसलाई सिध्याउनका लागि युक्रेनको प्रयोग गरिरहेको रुसी नेताहरूले आरोप लगाउँदै आएका छन् ।
नया वर्ष सन् २०२३ को पूर्वसन्ध्या र पहिलो दिनमा रुसी क्षेप्यास्त्र र ड्रोनहरू युक्रेनमाथि बज्रिएका छन् । गत सेप्टेम्बरमा रुसले युक्रेनमा आंशिक रूपमा सेना परिचालन गरी शुरू गरेको युद्ध रोकिने सङ्केत मस्कोले अहिलेसम्म नदिएको नेटो महासचिवले रेडियो फोरको वर्ल्ड कार्यक्रमसँग भने ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको अवसरमा भाषण गर्दै युक्रेनमा भइरहेको लडाइँको पक्षमा उभिन मानिसहरूलाई आग्रह गरेका छन् । त्यसक्रममा उनले आफ्नो मुलुकको भविष्य दाउमा रहेको टिप्पणी गरे ।
उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीले चाहिँ रुसी फौजलाई नेतृत्व दिनुको साटो पुटिन फौजपछाडि लुकिरहेको आरोप लगाए । युक्रेनी सशस्त्र फौजका प्रमुखका अनुसार शनिबार रुसले २० वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमा १२ वटालाई खसालिएको थियो।