भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ । अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त थिए । तर पर्यटक आउने मुख्य सिजनमा यो विमानस्थलमा हवाई उडान अवरुद्ध हुँदा उनीहरु निराश भएका छन् ।
हाल खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ । प्रतिकुल मौसमका कारण बुकिङ रद्द गर्नुपरेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट सङ्घ (नाट्टा)का प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ । “लुम्बिनीमा पुस, माघ र फागुनमा बढी पर्यटक घुम्न आउने गरेका छन्”, उनले भनिन्, “यस्तो समयमा प्रतिकुल मौसमका कारण उडान रद्द गर्नु पर्दा पर्यटक यहाँ आउन पाएका छैनन् ।”
जाडो र चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिविलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिविलिटी दुई सय मिटर हाराहारीमा पुग्छ । घाम लागेको बेला आन्तरिक उडान हुने र नभएको बेला उडान नै नहुने भइरहेको छ ।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार गत डिसेम्बर २० देखि हिमालयन एयरलाइन्स र २१ डिसेम्बरदेखि जजिरा एयरवेजले उडान स्थगित गरेका छन् । जजिराले डिसेम्बरसम्म उडान स्थगित जानकारी दिए पनि यो मौसमी प्रतिकुलताका कारण यो समयावधि अझै लम्बिन सक्ने देखिन्छ । आन्तरिक उडान पनि मौसमकै कारण नियमित भइरहेको छैन ।
विमानस्थलमा उपकरण अवतरण प्रणाली (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम–आइएलएस) जडान छ । तर कार्यान्वयनमा भने आउन सकेको छैन । आइएलएस रेडियो नेभिगेशन प्रणाली हो । जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । आइएलएस प्रणाली कार्यान्वयन गर्दा भारतीय आकाश पनि प्रयोग गर्नुपर्ने हुनसक्छ । यसका लागि भारत सरकारको स्वीकृति आवश्यक पर्ने महाप्रबन्धक दाहालको भनाइ छ ।
विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । तर आइएलएस कार्यान्वयन हुने हो भने आठ सय मिटरसम्मको भिजिविलिटीमा विमान अवतरण गराउन सकिने दाहालको भनाइ छ ।
विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल विसं २०२३ मा आन्तरिक विमानस्थलको रुपमा हालको स्थानबाट सञ्चालनमा आएको थियो । रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थल विसं २०७९ जेठ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो ।
आठ सय बिघा क्षेत्रफलमा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे छ । फोर ई क्याटेगरीको विमानस्थलमा नवौं क्याटेगरीका दमकल छन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरणको क्षमता रहेको यो विमानस्थलमा चार वटा न्यारोबडी र एउटा वटा वाइडबडी गरी पाँच वटासम्म जहाज पार्किङ गर्न सकिन्छ ।
विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । यस अवधिमा १३ हजार पाँच सय ९३ यात्रु आएका छन् भने १८ हजार २५ यात्रु विमानस्थल हुँदै बाहिरिएका छन् ।
विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ ।