जनकपुरधाम । मधेस प्रदेशसभाका १०४ सदस्यले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सदस्यहरुलाई शपथ खुवाएका हुन् । तर, प्रदेशसभा सदस्यमा निर्वाचित सप्तरीकी माला कर्ण र महोत्तरीका रजी हैदरले भने आज शपथ ग्रहण गरेका छैनन् । दुवै जना समानुपातिक सांसद हुन् ।
सर्वोच्च अदालतको आदेशअनुसार कर्ण र हैदरको शपथ रोकिएको प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए । माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।
समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेकी थिइन् ।