बागमती प्रदेशका ज्येष्ठ सदस्य ढुङ्गानाद्वारा शपथ



हेटौँडा । बागमती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बागमती प्रदेशसभाका एक सय १० सदस्यमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् । ढुङ्गाना नेकपा (माओवादी केन्द्र) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।


निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरणअनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुङ्गानाले सभाको अध्यक्षता गर्नेछन्।

प्रदेशसभामा निर्वाचित बाँकी प्रदेशसभा सदस्यको शपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेशसभा सचिवालय हेटौँडामा राखिएको छ । बाँकी सदस्यलाई ज्येष्ठ सदस्य ढुङ्गानाले शपथ गराउनेछन् ।