रामपुर । ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही…।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ। एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन।
छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन थालेपछि भण्डारी यस व्यवसायमा उत्साहित हुँदै लागेका हुन्। निर्मल पशुपक्षी कृषि फार्म दर्ता गरी रामपुर नगरपालिका–५ स्थित राङभाङमा एक वर्षअघिदेखि व्यावसायिक तवरबाट उनले बाख्रापालन गरिरहेका छन्।
विभिन्न क्षेत्रको अनुभव बटुलेका भण्डारीले परिवारको आयआर्जनको दरिलो स्रोतका रूपमा बाख्रापालन व्यवसायलाई अँगाल्नेका हुन्। उनको फार्ममा हाल ५९ बाख्रामध्ये २७ माउ र अन्य साना पाठापाठी छन्। एक वर्ष पूरा नहुँदै बाख्रापालनबाट मनग्य कमाइ हुन थालेपछि व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजाने भण्डारी बताउँछन्।
“बाख्रापालनबाट राम्रै कमाइ गर्न सकिने रहेछ, नौ महिनामै नौवटा पाठा बिक्री गरी रु दुई लाख ५० हजार कमाउन सफल भएको छु”, उनले भने, “परिवारसँग बसेर स्वतन्त्ररूपमा व्यवसाय गर्न पाइएको छ, बाहिरको तनाव छैन, यसमै खुसी छु।”
भण्डारीको दुईवटा माउ बाख्राबाट सुरु भएको व्यवसाय अहिले यस क्षेत्रकै नमूना बाख्रापालन व्यवसायका रूपमा चिनिन पुगेको छ। स्थानीय वयर क्रस, जनुनापारी, खरी जातका बाख्रा फार्ममा छन्। बीउ उत्पादनका लागि बोयर जातका दुईवटा बोका पालेका छन्। चार किलो दुई सय ग्रामसम्मको पाठापाठी जन्मिने गरेको भण्डारीले बताए।
आफ्नै एक रोपनी जग्गामा पक्की खोर र घाँसपात खाने संरचना तयार पारिएको छ। करिब एक सय २० बाख्रा अट्ने क्षमताको खोर तयार पारिएको छ। माउ, पाठापाठी र भर्खरै ब्याएका बाख्रालाई फरक–फरक खोरमा राख्ने गरिन्छ। राम्रो स्याहारसुसार घाँसपास खुवाएमा एक वर्षमा ४५ किलोसम्मको खसीबाख्रा उत्पादन हुने उनको अनुभव छ। खोर निर्माणमा रु २५ लाख र बाख्रा खरिदमा रु १० लाख गरी करिब रु ३५ लाखको लगानीमा भण्डारीले व्यावसाय सञ्चालन गरेका छन्।
घाँसपातको आपूर्ति व्यवस्थापन गर्न १३ रोपनी जग्गा भाडामा लिएर सुपरनेपिएर, वर्षिमलगायत जातका उनले उन्नत घाँस लगाएका छन्। अहिले फार्ममा सात पाठा बिक्रीका लागि तयार भएका छन्। बाख्राको स्याहारसुसार र रेखदेखमै दिन बित्ने गरेको भण्डारीले बताए।
उनी भन्छन्, “अहिले बजारमा मागअनुसार खसी पुर्याउन सकिएको छैन, बजार मूल्य राम्रो भएपछि व्यवसायीलाई बाख्रापालनमा भ्याइनभ्याइ छ, दिनमा दुई/चार घण्टा खटेर वर्षमा लाखौँ कमाउन सकिन्छ।”
अहिले यहाँको बजारमा खसीको मासु प्रतिकिलो रु पाँच सय ५० मा बिक्री भइरहेको छ। लामो समयसम्म टिकाउ रहने खालको बलियो संरचना तयार पारेर व्यवसायमा लागेका उनले एक सय माउ बाख्रा पाल्ने लक्ष्य राखेका छन्। यस व्यवसायबाट वार्षिकरूपमा खर्च कटाएर रु पाँच लाख बराबरको कमाइ गर्ने भण्डारीको लक्ष्य छ। अहिलेसम्म अनुदान कार्यक्रम कहीँकतैबाट प्राप्त गर्नुभएको छैन। अनुदानका लागि भने लुम्बिनी प्रदेश सरकारसँग कुरा भइरहेको भण्डारीको भनाइ छ।
रोजगारका लागि विभिन्न क्षेत्रमा पुगेका भण्डारीले जीवनमा धेरै दुःख भोगाइपश्चात अन्ततः गाउँमै बसेर अहिले बाख्रापालनमा जोड दिएका छन्। साउदी अरबमा दुई वर्ष र भारतमा १३ वर्ष काम गरेर फर्केका भण्डारीले स्वदेशमै केही गरे हुन्छ कि भन्ने मनसाय बोकेर छ वर्षसम्म रामपुर तानसेन क्षेत्रमा सवारीचालक भएर पनि काम गरे। उनले धेरै क्षेत्रको अनुभवले दिगो र भरपर्दो आम्दानीका लागि बाख्रापालनको थालनी गरे।
बाख्रा उत्पादन बढ्दै जाँदा उनलाई एकछिन पनि व्यवसाय छोड्न मन छैन। बाख्रापालन थालनी गरेपछि आनन्दसँग परिवारका साथ जीवन ब्यतित भइरहेको उनी बताउँछन्। भण्डारीलाई यस व्यवसायमा श्रीमती भगवतीको राम्रो साथ छ। हिजो कमाइ नहुँदा टाढिएका आफन्त, परिवार, छरछिमेक, साथीभाइ अहिले बाख्रापालनबाट राम्रो हुन थालेपछि नजिकिन थालेको भगवतीले अनुभव सुनाए।
“परिवारको आयस्रोत नहुँदा गाउँमा सबैबाट हेपिनुपर्यो, अहिले आफैँले कमाउन सक्ने भइयो, कमाउन सकियो भने सबै नजिकका हुने रहेछन् भन्ने अनुभूति भएको छ, पाँच-सात महिना पालेपछि पाठा बिक्री गर्न लायकका हुन्छन्, बाख्रापालनमा दिन बितेको पत्तो हुनै छाड्यो”, भगवतीले भने।
बाख्रापालनबाट भण्डारीको परिवारलाई खुसी दिलाएको छ। बाख्रापालन क्षेत्रमा भण्डारी दम्पती यतिबेला समाजमा उदाहरणीय पात्रका रूपमा कहलिएका छन्। बाख्राको आहार व्यवस्थापनलाई मध्यनजर गर्दै घरमै राइस मिलसमेत सञ्चालन गरिरहेका छन्।
पाल्पामा पछिल्लो समय व्यावसायिक बाख्रापालनमा युवाको मोह बढ्दो छ। गाउँमा रहेका खाली जग्गा सदुपयोग गर्दै विदेशबाट गाउँ फर्केका युवा यस व्यवसायमा संलग्न हुँदै गएका छन्। दिगोरूपमा व्यवसाय गर्ने सोंचका साथका उन्नत जातका बाख्रापालनलाई युवाले जोड दिएका छन्। बजारमा खसीबोकाको माग र मूल्य अत्यधिक हुँदा व्यवसायीमा बाख्रापालनले उत्साह थपिदिएको छ।