बढ्दो चिसोमा किसानलाई कामको चटारो



महोत्तरी । मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ । चिसोबाट बच्न अनेकन उपाय खोजीरहँदा यहाँका किसानलाई भने कामको चटारो छ । यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पु¥याउनु पर्ने र उखुक्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइनभ्याइको अवस्था छ ।

अर्को सिजनका लागि तरकारी खेतीका लागि खनजोतको काम यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको चटारोले छोपेको हो । समय घर्कंदा बित्ने यी कामसँगै आउनै लागेको तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको जोहोमा पनि लाग्नुपर्ने बाध्यता छ । यहाँका किसानहरु मध्य पुसको थरथरी कमाउने चिसोबीच आराम गर्न पाएका छैनन् ।


“खेतीपातीको कामलाई जाडो र गर्मीको छुट दिँदैन, समयमै गर्न परिहाल्छ, असरल्ल काम छ”, भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले, “गोभी टिपेर आजै बजार लगिएन भने भोलिसम्म पूmल फक्रेर कक्रक्क पर्छ, तर चिसोले अलिक गाह्रो बनाएको छ ।” उनि यतिबेला उखु काट्ने, मुठा पार्ने र ट्र्याक्टरमा लोड गर्ने काममा पनि व्यस्त छन् ।

खेतीपातीका यी कामसँगै अहिले मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले पनि छोपेको छ । तिलासक्रायतका लागि चिउरा/मुरी बनाउन धान भिजाउने, उसिन्ने, कुट्ने काममा घरघरका गृहिणी लागेका छन् ।

त्यसैगरी तिल खेती गरेका किसान तिल झाँट्ने, निफन्ने काममा व्यस्त देखिन्छन् । पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लड्डु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान आफैँ धमाधम उखु पेलेर सक्खर पकाउन थालेका छन् । आफ्नो घरको पर्व सामग्रीको जोहो पनि हुने र यी सामग्रीले अहिले राम्रो भाउ पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन् । मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ ।

“पवनी (पर्व)ले छोपी सक्यो, खेतीपातीका काम असरल्ल छन्, अहिले सख्खरका लागि उखु पेल्ने, मुरी÷चिउराका लागि धान उसिन्ने र तिल झाँट्ने र बजार लाने काम छन्, लगत्तै अब १० दिनपछि अलुवा (सखरखण्ड, सुठुनी), पिँडालु र तरुल खन्ने काम सुरु हुन्छ”, रामनगर बस्तीकै ४५ वर्षीय किसान चन्देश्वर राय दनुवारले भने, “अहिले बजार पु¥याउन नसकिएको तिलको भाउ सङ्क्रान्तिपछि घट्छ ।”

मिथिलामा तिलासक्रायत पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने÷ख्वाउने स्थापित परम्पराले माघे सङ्क्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन् । मात्र एक कट्ठा क्षेत्रफलमा लगाइएको अलुवाबाट सङ्क्रान्तिअघि बजार पु¥याउनसके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ । कन्दमूल खन्ने र बजार पु¥याउने काम भने पुस चौथो साता लागेपछि थालिने दनुवारले बताए । पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लाई (लड्डु) खाने/ख्वाइने चलन छ ।

त्यसैगरी गोभी, भाण्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने प्रचलनले यी वस्तुले राम्रो भाउ पाउँछन् । पर्वका लागि आफ्नै घरको तयारी र पर्वअघि नै यी फसल बजार पु¥याउनै पर्ने र नियमित खेतीपातीका कामले अहिले फुर्सद पनि नभएको बलवा नगरपालिका–१० धमौराका किसान वासुदेव पासवानको भनाइ छ ।

पर्वकै तुक पारेर उखु किसान धमाधम उखु पेल्ने र खुँदो पकाएर मिठ्ठा (सख्खर) बनाउने काममा तल्लीन देखिएका छन् । “अहिले जाँगर नचलाए आम्दानी हुँदैन”, मिठ्ठा बनाउन ठूलो चुलोमा खुदो उमाल्न व्यस्त बर्दिबास–६ प्रेमनगरका किसान रामकृपाल महतोले भने, “उखुबाट हुने आम्दानीले वर्षभरिलाई पुग्ने अन्न जोहो गर्नुपर्छ ।”

मिथिलामा सबै जातजाति र समुदायले तिलासक्रायत पर्व मन खोेलेर मनाउने गर्छन् । यहाँका थारू समुदायको त यो मुख्य पर्व नै हुँदा एक महिना पहिलेदेखि नै तयारी थालिन्छ । थारू समुदायमा पर्वविशेषमा मासु अनिवार्य परिकारमा पर्ने हुँदा यसको जोहो गर्न केही पहिलेदेखि नै थारूहरुको व्यस्तता बढ्ने गरेको छ ।

तिलासक्रायत पर्वपछि यसको सनेस (कोसेली) पठाउने मिथिलामा आम चलन छ । विवाह भएका छोरी/चेली (फुपू, दिदीबहिनी र छोरीभतिजी) मित/मितिनी र नजिकी इष्टमित्रकहाँ पर्वविशेषका परिकार पु¥याइने परम्परा छ ।