नयाँ सरकार गठनको लागि राष्ट्रपति कार्यालयले दिएको समय आज सकिँदै



काठमाडाैँ । नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी  हुन् ।


यता सत्ता गठबन्धनमा अझै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षमा नपुगेरै सकिएको छ । कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री दाबी यथावत राखेका कारण गठबन्धन दलमा सहमति नजुटेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने बताए । उनले प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकाङ्क्षाअनुसार अघि बढ्ने ठुलो कुरा रहेको बताए ।