सिन्धुली । सिन्धुली महोत्सव सिन्धुलीमाडीमा शुक्रबारदेखि सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महोत्सवको उद्घाटन गरे ।
सो अवसरमा उद्योग र उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री बडूले भने, “अहिले सात सय ५३ वटै स्थानीय तहमा औद्योगिक ग्रामहरुको स्थापना गर्ने सरकारको लक्ष्य छ । एक सय पाँचवटा घोषणा भइसकेका छन् । यो वर्ष ३० वटा ग्रामीण औद्योगिक ग्रामहरू स्थापना हुँदैछन् ।”
मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकारको विशेष योजना रहेका उनले बताए । उद्यम, व्यवसाय र उत्पादनमार्फत मुलुकलाई आत्मनिर्भर बनाई अर्थतन्त्र सुधार गर्नुपर्ने मन्त्री बडूको भनाइ थियो ।
कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुनकोसी मरिण डाइभर्सन निर्माणले मधेसको विकासमा ठूलो सहयोग पुग्ने बताए । आयोजनाले जमिनमा सिँचाइ सुविधा पुगी खाद्यान्न उत्पादन बढ्ने उनले सुनाए ।
सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद श्यामकुमार घिमिरेले उद्योग र व्यवसायको विकास भएमा मात्र देशको विकास हुने धारणा राखे । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद लेखनाथ दाहालले सिन्धुली महोत्सवले सबैमा उत्साह भर्नुपर्ने चर्चा गर्दै महोत्सव उत्पादन रोजगारसँग जोडिनुपर्ने बताए ।
सिन्धुली महोत्सव–२०७९ आयोजक मूल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवको मुख्य लक्ष्य आगलागीका घटना न्यूनीकरण गर्न महोत्सव लगाएर शक्तिशाली दमकल खरिद गर्ने रहेको सुनाए ।
यही पुस ८ देखि १८ गतेसम्म चल्ने छैटौँ सिन्धुली महोत्सवले जिल्लाको समग्र कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, स्थानीय कृषि तथा मौलिक उत्पादन, स्थानीय परम्परागत सीप, कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले बताए ।
उनका अनुसार महोत्सवमा कृषि, पशु, घरेलु उद्योग, लघु उद्यम, पर्यटन आदिसँग सम्बन्धित तीन सय ५० वटा स्टल प्रदर्शनीमा राखिएको छ । पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको आङ्कलन छ ।