पर्सामा चिसोबाट प्रभावित बिरामीको सङ्ख्या बढ्दै



वीरगञ्ज । विगत चार दिनदेखि लगातार परेको शीतलहर र त्यससँगै बढेको चिसोले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । बिहानदेखि लाग्ने हुस्सु र त्यससँगै चल्ने हावाले तापक्रमलाई १० देखि १२ डिग्रीमा झारेपछि जिल्लावासीको दैनिकी प्रभावित भएको हो ।

चिसो बढेपछि सोबाट जोगिन सर्वसाधारण आगो ताप्नाका साथै तातो चियाको चुस्कीले आफूलाई न्यानो पार्ने प्रयासमा लागेको देखिन्छन् । बिहानको समयमा लाग्ने हुस्सुका कारण बाटो देख्न समेत समस्या भएपछि यातायातका साधान सञ्चालनमा कठिनाइ हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।


चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले जानकारी दिए । उनले सामान्य अवस्थामा ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गरेकामा हाल दैनिक एक सय ६० जनाभन्दा बढी चिसोबाट प्रभावित बिरामी आउने गरेको बताए ।

अस्पताल आउनेमा सबैभन्दा बढी रुघाखोकी, कोल्ड डाइरिया, ज्वरो, दम, पक्षघातका बिरामी बढी आउने गरेको डा.सिंहले जानकारी दिए । बढ्दो चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरको चौक चौराहालगायतका सार्वजनिक स्थानमा आगोको प्रबन्ध गर्न दाउरा र कम्बल वितरण गर्ने निर्णय गरेको उपप्रमुख इतियाज आलमले जानकारी दिए ।

उनले आजै महानगरपालिकाको कार्यालयमा सम्बन्धित सबै पक्षका अधिकारीहरूलाई बोलाई नगरका चौकचौराहामा आगोको व्यवस्था गर्न आवश्यक दाउरा  र आवश्यकताका आधारमा कम्बल वितरण गर्ने निर्णय गरिएको बताए । बढ्दो चिसोबाट जोगिन विना काम घरबाहिर नहिँड्न र हिँड्नैपर्ने भए न्यानो लुगा लगाई मात्र हिँड्न चिकित्सकले सुझाव दिएका छन् ।