कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित



काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन् ।

मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गरेकाे कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज बिहान भएको थियो ।


सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका थिए । यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए ।

यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।