विशेष अदालतद्वारा चूडामणि शर्मासँग ५० लाख धरौटी माग



११ असाेज । आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटी मागेको छ । सोमबार शर्माको बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी मागेको हो ।

उनी अदालतले मागेको धरौटी बुझाएर रिहा हुने तयारीमा छन्। धरौटी बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो।


आयोगले शर्मासमेत तीन जनाविरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो। अभियोगपत्रमा शर्मासहित कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो ।

महत र ढकाल आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए। उनीहरु अदालतको आदेशबमोजिम जनही ५०/५० लाख रुपैयाँ धरौटी बझाएर आइतबार नै रिहा भएका छन्।