आफ्नै नेतृत्वमा सरकार गठनका लागि संवाद गर्ने कांग्रेसको निर्णय



काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरुसँग संवाद थाल्ने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदको ठूलो दलको हैसियतले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सत्ता गठबन्धनका दलसँग संवादलाई अघि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।


‘संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुन्छ । त्यस अर्थमा नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायत अन्य दलसँगसमेत संवाद, वार्ता छलफल प्रक्रिया प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ,’ प्रवक्ता महतले भने ।

बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहेका छन् ।