रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै आज (बुधबार) सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वास घातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–धअ–००३६ मा दर्ता भएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ ।


लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो ।

लामिछानेले नेपाली नागरिकको हैसियत प्राप्त नगरेकै समयमा भएका सम्पूर्ण कामकारबाही बदर गर्दै निर्वाचन आयोगलाई झुक्याएर दल दर्ता र मतदाता नामावालीमा नाम दर्ता गराउने र उम्मेदवार बन्ने काम भएको भए उक्त काम अपराध भएको भन्दै कारबाही गर्न मागसमेत गरिएको छ । लामिछाने प्रतिनिधिसभा सदस्यमा विजयी भएको घोषणा गरिएकाले सांसद पदको शपथ रोक्नसमेत मागदावी लिइएको छ ।

रिटमा भनिएको छ,

‘नेपालको संविधानको धारा १३७(२)(ख) को क्षेत्राधिकार प्रयोग गरी प्रतिनिधि सभा सदस्य निर्वाचन आयोग ऐन, २०७४ को दफा १६ बमोजिम निज रवि लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरी निजलाई सांसद पदबाट मुक्त गरी पाउँ र उक्त ऐनको दफा १६(२) बमोजिमको कार्य गर्नु भनी विपक्षी निर्वाचन आयोगका नाममा परमादेशको आदेश जारी गरी पाउँ ।’

रिट निवेदनमा मुद्दाको अन्तिम किनारा नभएसम्मका लागि प्रतिनिधि सभा सदस्यको रूपमा उपस्थित हुन र कार्य गर्न नदिन पनि माग गरिएको छ । सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी सांसदको हैसियतले गर्ने काम गर्न बन्देज लगाउन माग गरिएको छ ।

बुधबार नै लामिछानेको नागरिकता विवादका सम्बन्धमा अर्को एक रिट पनि संवैधानिक इजलासमा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।