राजविराज । सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा मलसहित नियन्त्रणमा लिएको हो । उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा लुकाइछिपाइ भण्डारण गरी बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसलमा नेपाल सरकारबाट अनुदानित रासायनिक मल अङ्कित खेती शक्ति मल लेखिएको ५० किलो युरिया मल र ३५ बोरा मलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दासलाई पक्राउ गरी कालोबजारअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । पहिलोपटक सात दिनको म्याद थपसमेतको अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।