जुम्लाका गाउँमा बालविवाह र छाउपडीविरुद्ध सचेतना



जुम्ला । सामाजिक विकृतिका रुपमा रहेको बालविवाह र छाउपडी प्रथाविरुद्ध ‘आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्ला’ ले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संस्थाले बालविवाह, अपाङ्गहरुको हकअधिकार र छाउपडी प्रथाविरुद्धका क्षेत्रमा काम गरिरहेको छ ।


बालविवाह न्यूनीकरणका लागि पालिकास्तरमा रणनीतिक योजना निमार्णमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको संयोजक गिरीराज अधिकारीको दाबी छ ।

“हिमा गाउँपालिकामा महिला सञ्जाल, सिञ्जामा अपाङ्गता सञ्जाल र कनकासुन्दरी गाउँपालिकामा दलित समूहसँगको समन्वयमा घरेलु हिंसा, बालविवाह, छाउपडीविरुद्ध सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको छ”, उनले भने ।

सुरक्षित विद्यालय, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी चेतना, युवा, महिला, बालबालिकालाई स्थानीयस्तरमा रोजगारका अवसर एवं परिवर्तनका संवाहकमार्फत् सामाजिक विकृति हटाउने प्रयास भइरहेको उनले बताए ।