काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको आगामी सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
सत्ता गठबन्धनमा चुनावी तालमेलका कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने शीर्ष नेताहरुले निर्णय गरेका हुन् ।
वरिष्ठ नेता शरतसिंह भण्डारीले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो ।’ अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने उनले बताए ।
निर्वाचन आयोगले चुनावको सबै नतिजा सार्वजनिक गरेपछि बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने उनले बताए । लोसपाले प्रतिनिधि सभामा ४ वटा सिट जितेको छ ।