ब्राजिलको राष्ट्रपतिका छोरालाई काेराेना सङ्क्रमण



९ असाेज । ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सांसदसमेत रहनु भएका एडुर्डो बोल्सोनारोले आफु सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कगएको टोली मध्ये उनी तेस्रो सङ्क्रमित हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षिय बोल्सोनारोले आफुलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिएका छन् । उनले आफैँले आफैँलाई हेरविचार गरिरहेको पनि बताउनु भएको छ । यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो । न्युयोर्कमै रहेका बेला उहाँलाई सङ्क्रमण पुष्टि भएकाले उनी अहिले न्युयोर्कस्थीत एक होटलमा एकान्तवासमा बसेका छन् । त्यस बाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन् ।


अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने जोगिन सफल भएको जनाइएको छ । मास्क र खोपको विरोधीसमेत रहेका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गरेका थिएनन् भने खोप पनि लगाएका थिएनन् । महासभाको बेलाका उनीका फोटोमा पनि उनले मास्क नलगाएकाे देखिएको समाचारमा जनाइएको छ । महासभामा उनले कोरोनाभाइरस, यसको महामारी, मास्क, खोप, यसको व्यवस्थापनलगायतका विषयमा अरु नेताको भन्दा फरक धारणा राखेका थिए । उनले कोरोनाभाइरसलाई सामान्य ज्वरोका रुपमा व्याख्या गर्नु भएको थियो भने मास्क र खोपको आवश्यकता नरहेको जिकिर गरेका थिए ।

राष्ट्रपति बोल्सोनारोले खोप लगाउने ब्राजिलका जनतामध्ये आफु सबैभन्दा अन्तिम हुने जानकारी पनि महासभामा दिएका थिए। उनकी श्रीमती मिचेलले भने महासभामा सहभागी हुन न्युयोर्क जानका लागि खोप लगाएकी छन् । “खोप लगाउने वा नलगाउने कुरा व्यक्तिगत छनौटको कुरा हो, उदाहरणका लागि मेरी श्रीमतीले महासभाका लागि अमेरिका आएको बेला खोप लगाउनुभयो, तर मैले भने लगाएको छैन,” राष्ट्रपति बोल्सोनारोले भने । कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म झण्डै छ लाखको मृत्यु भइसकेको छ भने दुई करोड १३ लाख २७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावित देशको सूचीमा ब्राजिल तेस्रो क्रममा रहेको छ । ब्राजिलमाभन्दा धेरै क्रमशः अमेरिका र भारतमा पहिलो र दोस्रो क्रममा रहेका छन् ।