काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकार एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुनहरुको निर्माण गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य नीति लिएर अघि बढ्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे ।
उनले दिगो विकास लक्ष्य अनुरुप अघि बढ्ने गरी योजना तर्जुमा गर्न स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताए ।