काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । समानुपातिक सांसदको नाम टुंगो लगाउन हिजो(शुक्रबार) बसेको पदाधिकारी बैठक समानुपातिक सांसद नटुंग्याइ सकिएपछि बैठक आज पनि बस्न लागेको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियो । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर आज टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।
माओवादीले मंसिर ४ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ संघमा १४ र प्रदेशमा कुल २९ सिट पाएको छ ।
निर्वाचन आयोगले दलहरूलाई आज ४ बजेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।