काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनका नेता प्रधानमन्त्री बालुवाटारमा जुटेका हुन् ।
गठबन्धनका शीर्ष नेतासहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ । पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् ।
यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् । यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् ।
यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन् ।