काठमाडौँ । वागमती नदी किनारका सुकुम्वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । सोमबार सयौँको संख्यामा उपस्थित सुकुम्वासीहरुले माइतीघरदेखि नयाँबानेश्वर चोकसम्म शान्तिपूर्ण र्यालीसहित बिरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमीहीनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेका छन् ।
संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सुकुम्वासीहरुको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका सुकुम्वासीहरुले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सह्य नहुने चेतावनीसमेत दिए ।
सुकुम्वासीहरुले र्यालीका क्रममा बिना विकल्प उठिवास बन्द गर, वार्ता र संवादको ढोका खुला गर, भूमि अभियन्ताविरुद्धको जाहेरी फिर्ता गर, लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।
गत मंसिर १२ गते अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर सुकुम्वासी बस्ती भत्काउन पुगेदेखि बस्तीमा असहज परिस्थिति सिर्जन भएको उनीहरुको आरोप छ । उनीहरुले भत्काउनु र बिगार्नु विकास नभइ दिगो व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिए ।