नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा



काठमाडाैँ । नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले जानकारी दिएको छ ।

‘डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौँ’, नेफ्टा अध्यक्ष पुष्कर लामाले भने ।


फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको उनले भनाइ छ । अवार्ड आयोजनाले नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने उनको विश्वास छ ।

अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल सङ्घ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने उनले बताए । कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुनसकेको थिएन । तर, महामारीपछि फिल्म क्षेत्र लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो ।

यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । कूल ४२ विधामा वितरण हुने अवार्डमा जुरीले वैशाखमा फिल्म हेर्ने कार्यक्रम छ । नेफ्टाले यसअघि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड आयोजना गरिसकेको छ ।