काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनबीच भेटघाटवार्ता भएको छ ।
प्रहरी प्रधान कार्यालयमा भएको भेटमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे ।
नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साईबर अपराध नियन्त्रण एवम् महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिए ।
भेटघाटका अवसरमा प्रहरी महानिरीक्षक सिंहले अमेरिकी सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास उनले व्यक्त गरे ।