तराई–मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै



काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई–मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको हो । 

भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर रुपमा चार सय केभी क्षमताको चार सर्किट प्रसारण लाइन र सवस्टेसन निर्माण गरिने छन् । चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट चार सय केभी र तल्लो दुई सर्किट एक सय ३२ केभी क्षमताका प्रसारण लाइन सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिने छ । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ठाउँ–ठाउँमा सवस्टेसनको निर्माण गरिने छ । 


अहिले प्रस्तावित प्रसारण लाइनको रुट र सवस्टेसन रहने स्थान तय गर्ने काम भइरहेको छ । बारा बर्सा औद्योगिक करिडोरअन्तर्गत वीरगञ्ज क्षेत्रमा करिब तीन हजार दुई सय र जनकपुर क्षेत्रमा आठ सय मेगावाट विद्युत् खपत गर्ने गरी प्रसारण सञ्जाल पूर्वाधार निर्माण गरिने छन् । यसबाट सहर र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लामा पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने छ ।

प्रसारण लाइन तथा सवस्टेसन निर्माणका लागि रु ५० अर्ब भन्दा बढी लाग्ने छ । यो रकम नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी, भारतीय एक्जिम बैंक, एसियाली विकास बैंकलगायतको सहुलितपूर्ण ऋणबाट जुटाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, परामर्शदातालगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिवार र आइतवार प्रस्तावित लाइन निर्माणस्थलको स्थलगत अनुगमन भ्रमण गरी चार सय र एक सय ३२ केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतर्फ निर्यातका लागि दक्षिण करिडोर प्रसारण लाइन चरणबद्ध रुपमा निर्माण गर्न लागिएको बताए । केही प्रसारण लाइन तथा सवस्टेसन निर्माण भइरहेका छन् । केही तत्काल शुरु हुँदैछन् भने अन्य दीर्घकालीन रुपमा निर्माण गर्ने गरी सवस्टेसनका लागि जग्गा लिने, प्रसारण लाइनको रुट तय गर्ने, वातावरणीय अध्ययनका लागि प्रक्रिया शुरु गर्नेलगायतका काम भइरहेका छन् ।

घिसिङले भारततको मोतिहारी, सीतामणि, जयनगर विन्दुतर्फ पनि विद्युत् निर्यात गर्न सकिने बताए । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी पर्साको पोखरिया र बाराको निजगढमा चार सय केभीको सवस्टेसन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । त्यही चार सय केभी लाइनलाई हुलाकी राजमार्गको समानान्तर रुपमा जनकपुरतिर विस्तार गरिने छ । बाराका प्रसौनीमा एक सय ३२ केभी क्षमताका सवस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको गरिएको छ ।

जनकपुर क्षेत्रको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन धनुषाको ढल्केबरबाट महोत्तरीको लोहरपट्टीसम्मका एक सय ३२ केभी क्षमताका सवस्टेसनको निर्माण भइरहेको छ । लोहरपट्टीमा एक सय ३२ केभी सवस्टेसन निर्माणाधीन छ । यसैगरी ढल्केबर–बालगंगा एक सय ३२ केभी क्षमताका प्रसारण लाइन पनि निर्माणाधीन छ ।