होङ्सी सिमेन्टलाई वैकल्पिक माध्यमबाट तीन महिनाभित्रमा विद्युत



४ असाेज । चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई तीन महिनाभित्र विद्युत् आपूर्ति गर्न सकिने भएको छ । उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजना निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिन लागिएको हो । यसका लागि भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनका बीच खण्डबाट ‘ट्यापिङ’ गरिने भएको छ । कार्यकारी निर्देशक घिसिङले उद्योगका पदाधिकारीहरुसँग छलफल गरी तीन महिनाभित्र विद्युत् आपूर्ति दिन सकिने भएकाले सोहीअनुसार आवश्यक तयारी गर्न आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगलाई विद्युत् पु¥याउने घोषणाअनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शीले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ । उद्योगको क्षमता विस्तार गर्दा होङ्शीलाई मात्रै करिब ८० मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।