पाँचथरमा एमालेका वसन्त नेम्बाङ ४७ मतान्तरले विजयी



मिक्लाजुङ । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाल)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका थिए ।

नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइससकेका छन् ।


उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए । विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए ।