गोरखा–१(२) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी



गोरखा । गोरखा–१(२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणनामा न्यौपाने १६ हजार दुई सय ६१ मत ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत प्राप्त गरेका छन् । न्यौपानेले आठ हजार सात सय २८ मतको मतान्तरले निर्वाचन जित्न सफल भएका हुन् । उनी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार थिए । न्यौपाने नेपाली कांग्रेस गोरखाको सभापतिसमेत हुन् ।