सिन्धुली–१ को मतगणना सुरु



सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र १ को मतगणना आज राति नौबजेबाट सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा साँझ ६ः३० बजेदेखि मतगणना सुरु गरिएको थियो ।

निर्वाचन क्षेत्र नम्बर १ को मतगणना तिनपाटन गाउँपालिकाबाट सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ मतगणना एकैसाथ सुरु भएको हो । यो सकिएपछि समानुपातिकतर्फका मतगणना सुरु हुने उनले बताए ।


प्रतिनिधिसभा सदस्यमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे र नेकपा एमालेका प्रदीप कटुवालबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर १ को (१) मा गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद भट्टराई (वसन्त) र नेकपा एमालेबाट सुवास देवकोटाबीच प्रतिस्पर्धा हुनेभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को (२) मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका रामकुमार पहाडी र नेकपा एमालेका रामकुमार कार्की एक अर्काका प्रतिस्पर्धी छन्् । सिन्धुलीमा ५६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

दुई निर्वाचन क्षेत्रका दुई लाख आठ हजार तीन सय ६९ मतदाता रहेकोमा एक लाख १८ हजार नौ सय ६० मत खसेको प्रारम्भिक तथ्याङ्क रहेको निर्वाचन कार्यालयले जनाएको छ ।