लमजुङ प्रतिनिधिसभाका उम्मेदवार गुरुङको निधन



लमजुङ । जनता समाजवादी पार्टी (जसपा)बाट लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नरेन्द्र गुरुङको निधन भएको छ । केही दिनदेखि अस्वस्थ रही चितवनमा उपचारत गुरुङको आज निधन भएको सो पार्टीका केन्द्रीय सदस्य खेमजङ्ग गुरुङले जानकारी दिए ।

मस्र्याङ्दी गाउँपालिका–१ घनपोखराका उम्मेदवार गुरुङ अन्दाजी ६२ वर्षको उमेरमा उच्च रक्तचापका कारण निधन हुन पुगेको उनको भनाइ छ । शनिबार रक्तचापका कारण बेहोस भएपछि तत्काल बेँसीसहरमा रहेको जिल्ला अस्पतालमा लगे पनि थप उपचारका लागि चितवनमा लगेर उपचार हुँदै आएको थियो ।


जिल्लामा आज दिउँसोदेखि नै मतगणना जारी छ । हालसम्म मतगणना भएको चार हजार नौ सय चार मतगणना हुँदा निधन भएका गुरुङको पक्षमा पाँच भोट प्राप्त भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनले भने, “उहाँको दुःखद निधन भएको अपुष्ट खबर प्राप्त भएको छ, निधन भए पनि मतगणना भने जारी रहन्छ ।“

प्रतिनिधिसभातर्फ उनीसहित नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष बालचन्द्र श्रेष्ठलगायत ११ जना उम्मेदवार रहेका छन् । मृतक गुरुङ पार्टीको गण्डकी प्रदेशको सदस्यसमेत थिए ।

मृतक गुरुङको श्रीमती चार छोरा छन । बिरामीका कारण आइतबार मतदानसमेत गर्न नपाएको उक्त पार्टीका केन्द्रीय सदस्य गुरुङले बताए । उनका अनुसार पार्टीका उम्मेदवारको प्रतिनिधि बनेका विकास गुरुङ र बलबहादुर रानालाई मतगणना स्थलबाट फिर्ता बोलाइएको छ ।