उत्तर कोरियाद्वारा महासचिव गुटरेसको कडा शव्दमा आलोचना



उत्तरकोरियाले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको कडा शव्दमा आलोचना गरेको छ । अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि उसले महासचिव गुटरेसलाई ‘अमेरिकाको कठपुतली’ भन्दै आलोचना गरेको हो ।

प्योङयाङको अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणलाई अमेरिकासँगै महासचिव गुटरेसले निन्दा गरेकामा असन्तुष्टि जनाउँदै उत्तरकोरियाले विश्वसंस्थाका प्रमुखको आपत्तिजनक शव्दमा आलोचना गरेको हो । महासचिव गुटरेसले गत शुक्रबार उत्तरकोरियाले गरेको क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै भविष्यमा उत्तेजक कार्य नगर्न प्योङयाङलाई आह्वान गरेका थिए । अमेरिकासहितका धेरै देशले क्षेप्यास्त्र परीक्षणको निन्दा गरेपछि महासचिवको कडा वक्तव्य सार्वजनिक भएको थियो ।


उत्तरकोरियाले संयुक्त राज्य अमेरिकाका कुनैपनि राज्यमा प्रहार गर्नसक्ने क्षमता भएको क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाइएको थियो । उत्तरकोरियाली विदेशमन्त्री चो सन हुईले महासचिव गुटरेसलाई आफ्नो देशले ह्वाइट हाउस वा अमेरिकी विदेश मन्त्रालयका अधिकारीका रूपमा लिने गरेको बताउँदै महासचिवले राष्ट्रसङ्घको वडापत्रका उद्देश्य एवम् सिद्धान्त विपरीत व्यवहार गरेको आरोप उनले लगाइन् । महासचिवले समानता र निष्पक्षता कायम गर्न नसकेको भन्दै उनले खेद प्रकट गरेकी छन् । सुरक्षा परिषद्मा उत्तरकोरियाको समर्थन गर्नेलाई पनि महासचिवले वेवास्ता गरेको उनको आरोप छ ।