भक्तपुरको पछिल्लो ‘अपडेट’



भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५ बजेसम्मको १५ हजार मत गणना गर्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको हो ।

यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा छ सय ८३ मतान्तरले अगाडि छन् । नेपाली कांग्रेसका थापाले छ हजार एक सय ९४ मत प्राप्त गरेका छन् भने एमालेका बस्नेतले पाँच हजार पाँच सय १९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ९८, राष्ट्रियता प्रजातन्त्र पार्टीले एक हजार एक सय ११ र नेपाल मजदुर किसान पार्टीले छ सय ६९ मत प्राप्त गरेको छ ।


त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेले अग्रता लिएको छ । एमालेले आठ सय २० मत प्राप्त गर्दा राप्रपाले सात सय ७६ मत ल्याएको छ । नेमकिपाले छ सय ८२ मत पाएको छ । सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवारले पाँच सय पाँच मत पाएका छन् । यस क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट नवराज गेलाल, राप्रपाका तर्फबाट भरतबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सु्वाल, सत्ता गठबन्धनका तर्फबाट सुनिल गोठेले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ भक्तपुरको क्षेत्र नंं १ अन्तर्गतको चाँगुनारायण प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारले फराकिलो मतले अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश श्रेष्ठले दुई हजार तीन ८९ मत ल्याउँदा एमालेका मोहनवीर श्रेष्ठले नौ सय ७९ मतले पछ्याउनुभएको छ । राप्रपाका उम्मेदवार दीपक कुइँकेलले भने चार सय ७१ मत ल्याउनुभएको छ ।

त्यस्तै क्षेत्र नं २ अन्तर्गतको सूर्यविनायकमा एमालेले अग्रता लिएको छ । एमालेका प्रदेशसभा उम्मेदवार किरण थापाले एक हजार एक सय ३८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले नौ सय ३९ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार विक्रम थापाले तीन सय १२ मत तथा नेमकिपाका सरोजराज गोसाइँले दुई सय दुई मत ल्याएका छन् । दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकसमेतको मतगणना सुरु गरेकाले नतिजा आउन एक साता लाग्ने मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।