गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठविरुद्ध प्रचार गर्ने तीन जनालाई कांग्रेसद्वारा कारबाही



काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर–४ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) विरूद्ध प्रचार गर्ने तीन जनालाई नेपाली कांग्रेसले निलम्बन गरेको छ ।

केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति जारी गरेर नेकपा एकीकृत समाजवादीका नेता किसानविरूद्ध लागेको भन्दै कांग्रेसका जिल्ला उपसभापति अमिरीलाल राउत भेडियर, सदस्य हरिप्रसाद थपलिया र क्षेत्रीय प्रतिनिधि सुशील ढोडारीलाई निलम्बन गरेको संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिएकाे हाे ।


उनीहरू किसानविरूद्ध लागेको उजुरी पाएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा (३४) बमोजिम समितिले पार्टीको सदस्यता नरहने गरी निलम्बन गरिएको विज्ञप्तिमा जनाएको छ ।