खजुरा । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उहनका अनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो ।
सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन् । बडुवालको अवस्था गम्भीर रहेको छ । घाइते दुवैजनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । कोठाभित्र भेटिएको दुइवटा बममध्ये एउटा विष्फोटनभएपछि अर्कोलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताताहरुले बम बनाइरहेका थिए । प्रहरीका अनुसार घटना बारेमा अनुसन्धान भइरहेको छ ।