जिल्ला अदालतको आदेशविरुद्ध पल शाहले दिए उच्च अदालतमा पुनरावेदन



पोखरा । अभिनेता पल शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका छन् । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका हुन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिइन् ।


नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा छन् ।