भारतबाट आएको जंगली हात्तीको आतंक



बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जंगली हात्तीले आतंक मच्चाएको छ । 

भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा, खेतमा काटेर राखेको धान, बालीमा क्षति गर्ने गरेको मधुवन-२ धनैराका स्थानीय भुपाल न्यौपानेले बताए । उनले भने, ‘भारतीय सीमावर्ती जङ्गलबाट दिनहुँजसो आउने जङ्गली हात्तीले केराखेतमा आतंक  मच्चाएपछि काँचै केरा कम दाममा बेच्नुपरेको छ ।’


भारतीय सीमावर्तीबाट आउने जङ्गली हात्तीले बर्सेनि चार-पाँच घर भत्काउने, आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती खाइदिने गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको न्यौपानेले बताए।

यस क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय खाता जैविकमार्गमा भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरी र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ, हात्ती आहार विहारका लागि ओहोर-दोहोर गरिरहेका हुन्छन् । गत आवमा दुई जना हात्तीको आक्रमणबाट मृत्यु भएको थियो भने यस आवको हालसम्म एक जना हात्तीको आक्रमणबाट मृत्यु भइसकेको छ ।