चितवनका दुई स्थानमा अस्थायी मतदान केन्द्र



चितवन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा अस्थायी  मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागि र मालपोत कार्यालयमा कर्मचारीका लागि केन्द्र राख्न लागिएको हो ।

कारागार कार्यालय चितवनमा रहेका एक सय दुई जना कैदीबन्दीले मतदान गर्दै छन् । कारागार कार्यालयमा रहेका सात सय ९५ जना कैदी बन्दीमध्ये अन्तिम मतदाता नामावलीमा नाम रहेका उनीहरूले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन । जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार उनीहरूले कारागार कार्यालयमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकमा मतदान गर्ने उनले जानकारी दिए । 


यस्तै कर्मचारीलाई मतदान गर्नका लागि मालपोत कार्यालयमा पनि आस्थायी मतदान केन्द्र राखिने भएको छ । जिल्लामा रहेर निर्वाचनमा खटिएका कर्मचारी र अस्थायी मतदाताका लागि सो मतदान केन्द्र राख्ने तयारी गरिएको हो । मतदान केन्द्रमा एक हजार पाँच सय ४४ जना मतदाताले मतदान गर्ने छन् ।

 नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका कर्मचारीले सो मतदान केन्द्रबाट मत हाल्ने छन् । यहाँ राखिएको मतदान केन्द्रबाटसमेत प्रतिनिधिसभाका लागि समानुपातिक तर्फको मतदान हुने कार्कीले बताए । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा चार लाख आठ हजार तीन सय ४२ मतदाताले सहभागिता जनाउन लागेका छन् ।