कर्तव्य ज्यान मुद्दामा १३ वर्षदेखि फरार अभियुक्त पक्राउ



बागलुङ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च अदालतले विसं २०६८ वैशाख १४ मा गरेको फैसलाअनुसार पिमबहादुर दोषी ठहरिएका थिए ।

सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त ६० वर्षीय पिमबहादुरलाई कैद भुक्तान प्रक्रियाका लागि जिल्ला अदालतमा पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।