आम निर्वाचनका लागि नुवाकोटमा आइपुग्यो मतपत्र



त्रिशूली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र शनिबार आइपुगेको छ ।

निर्वाचन आयोगले पठाएको मतपत्र जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जिल्लामा पाँच लाख ३० हजार थान मतपत्र प्राप्त भएको हो । यसअघि समानुपातिकतर्फको पाँच लाख ३८ हजार थान मतपत्र जिल्लामा आइपुगेको थियो ।


ती मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठीक पाइएसँगै भण्डारण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ ।

यस्तै प्रदेशसभा (१) मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा (२) मा ६१ हजार दुई सय ९३ मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठीक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाताका लागि प्रतिनिधिसभातर्फको प्रत्यक्षका लागि एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा (२) मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६६–६६ हजार थान मतपत्र प्राप्त भएको छ ।

शनिबार आइपुगेको मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।