पेट्रोलियम खपत घटाउन कनकाईद्वारा विद्युतीय सवारी खरिद



झापा। झापाको कनकाई नगरपालिकाले विद्युतीय सवारी खरिद गरेको छ। बढ्दो पेट्रोलियम पदार्थको खपत घटाउन र विद्युत्को प्रयोग बढाउन नगरपालिकाले पहिलो चरणमा दुईवटा दुईपाङ्ग्रे विद्युतीय सवारी खरिद गरेको हो।

बढ्दो इन्धन आयात घटाउन र विद्युत्को प्रयोग बढाउन विद्युतीय सवारी साधन खरिद गरिएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए। 


‘विद्युत् उत्पादनमा नेपाल आत्मर्निभर बन्दै गएको छ,’ उनले भने, ‘तर पनि समय अनुकूल विद्युत्को प्रयोग हुनु सकेको छैन, यसले विद्युत्को प्रयोग बढ्नाका साथै पेट्रोलियम पदार्थ प्रतिस्थापनमा सहयोग पुग्ने अपेक्षा छ।’ आफ्नै मुलुकमा उत्पादित ऊर्जालाई प्रयोग गरेर आफैं समृद्धि बन्नेतर्फ स्थानीयस्तरबाट कदम चालिनुपर्ने उनको भनाइ छ। 

इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनि प्रदूषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणका लागि विद्युतीय मोटरसाइकल र स्कुटर खरिद गरेको नगरप्रमुख पोखरेलले बताए। नगरले परीक्षणका लागि दुईवटा सवारी खरिद गरेसँगै कनकाईमै दुईवटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरिरहेको नगरपालिकाका योजना प्रमुख विवेक भण्डारीले बताए।