इजलासमा सन्दीपको बयान : कसैको उक्साहटमा अभियोग लगाइयो



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवार अभियोगपत्र दायर गरेको थियो ।

अभियोग पत्र दायरपछि अदालतमा मंगलबार सन्दीपको बयान भएको हो । सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारबाट थुनछेक बहस हुने सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताए ।


उनले मंगलबार नेपाल प्रहरीले ढिलो गरी अदालतमा उपस्थित गराएको र बीचमा बत्ती गएका कारण बयान लिने काम ढिला शुरु भएको बताए ।

उनले सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको जानकारी दिए । उनले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताए ।

उनले पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरुको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको बताए । उनले किशोरीको बयान शंकास्पद रहेकाले किशोरीको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरुले वकालत गर्ने स्पष्ट पारे ।

उनले भने, ‘जन्मदर्ताका प्रमाण केही भेटिएका छन् । बयान प्रमाणित हुन पाएको छैन, आज श्रीमान चाँडै निस्किएका कारणले । पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको व्यहोरामा डाक्टहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’

सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटलमा लगेर एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।