दोधारा चाँदनी । चारैतिर तरकारी खेती । खेतको एउटा कुनामा काठको टेकोले बनाएको सानो झुपडी । तरकारी खेती जोगाउन यहीँ झुपडीमा जाग्राम बस्दै आएका छन् भीमदत्त नगरपालिका– १६ नयाँ बस्तीका नाथुराम राना । उनले खेतमा जाग्राम बस्न थालेको एक महिना भन्दा बढी भयो ।
खेतमा तरकारीको बिरुवा रोपेदेखि उनले घरमा बास बस्न पाउनु भएको छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएका यो बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस छ । निकुञ्जबाट आउने चित्तल र बँदेल लगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । विसं २०६३ देखि तरकारी खेती गर्दै आएका नाथुरामले तरकारी जोगाउन हरेक वर्ष खेतमै बास बस्नुपर्ने बाध्यता रहेको बताए । ‘निकुञ्जबाट आउने वन्यजन्तुले खेती नष्ट गरिदिन्छन्’, तरकारी खेतको छेउमा रहेको झुपडी देखाउँदै उनले भने, ‘झुपडीमा रात बिताएर तरकारी बचाउनुपर्छ ।’
निकुञ्जबाट आउने जनावरले तरकारी खानुका साथै नष्ट गरेर जाने गरेको उनले बताए । ‘जङ्गलबाट हात्ती आउने डर हुन्छ राति डरै डरले बस्नुपर्छ’, उनले भने्, ‘गत वर्ष राति तरकारी खेतीमा आएको बँदेलले गाउँको एक जनालाई आक्रमण गरेको थियो ।’ करिब ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेका रानाले अहिले खेती विस्तार गरेर १५ कठ्ठामा खेती गर्दै आएका छन् । ‘तरकारी खेती गरेरै घरखर्च र छोराछोरीको पढाइखर्च चलाइराखेको छु ।’
उनले भने, ‘वन्यजन्तुबाट खेती जोगाउन सके वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ’, यहाँ बसोबास गर्ने ४१ राना परिवार तरकारी खेती गरेरै जिविकोपार्जन गरिरहेका सुदामा रानाले बताए । ‘यहाँ बस्ने सबैले समूहमा मिलेर तरकारी खेती सुरु गरेका हौँ’, उनले भने, ‘अन्यबाली भन्दा तरकारी खेतीमा तीन गुणसम्म फाइदा हुन्छ ।’
तरकारी खेतीबाट राम्रो आम्दानी हुने भए पनि खेती जोगाउन मुख्य चुनौती रहेको अर्का किसान कैलाशु रानाले बताए । ‘खेती जोगाउन खेतमा बास बस्नुपर्ने बाध्यता छ निकुञ्जले सीमामा तारजाली लगाए पनि वन्यजन्तु आउन छोडेनन’ उनले भने, ‘खेती सुरु गर्ने बेलादेखि भित्र्याउने बेलासम्म खेतमै बास बस्नुपर्छ ।’
डेढ दशकदेखि तरकारी खेती गर्दै आउनुभएका यहाँका किसानले भारतबाट आउने तरकारी पनि चुनौती बनेको बताउँछन् । ‘भारतबाट आउने तरकारीमा विषादी हुन्छ हामी प्राङ्गारिक मलको प्रयोग गर्छौ’, उनले भने, ‘भारतबाट आउने तरकारीका कारण धेरै वर्ष हाम्रो तरकारी खेर गयो ।’